डिएफएसके ग्लोरी ५८० सँगको तीन दिन, एक हजार किलोमिटर ड्राइभिङ अनुभव

काठमाडौं । मिड साइज एसयूभी नेपाल आउने क्रम बढ्दै गएको छ । अहिले एमजी, प्रोटोन, हुन्डाई, टोयोटा, जीप, टाटा लगायतका ब्राण्डले मिड साइज एसयूभी नेपालमा विक्री गर्दै आएको छन् ।

यस्तोमा मेरोअटोले लामो ड्राइभमा जाने सोच धेरै पहिलादेखि बनाउँदै आएको थियो । त्यसमा पनि कार्यालयका अधिकांश साथीहरुको समय मिलाउनु पर्ने भएकाले हामीले शिवरात्रीको दिन काठमाडौंबाट हिड्ने निधो गर्यौ । हामीले यो यात्रामा २ वर्षअघि नेपाल आएको ब्राण्ड डिएफएसकेलाई रोज्यौ ।

 

हाम्रो यात्रा तीन दिन र करिब ११ सय किलोमिटर थियो । त्यसको लागि ग्लोरी ५८० हामीसँग थियो । डिएफएसकेले इन्डोनेशियामा उत्पादन गरेको ग्लोरी ५८० ग्राहकहरुको रोजाइमा पर्दै गएकाले हामीले पनि यसको टेष्ट ड्राइभ गर्ने निधो गरेका थियौं । हाइवेको यात्रामा निस्केकाले यसमा रहेको सिभीटी गियरबक्सले चालकलाई निकै सहज बनाएको थियो ।

पहिलो दिन विहान ५ बजे सुरु भएको हाम्रो यात्रा कोटेश्वर, बनेपा हुँदै सिन्धुली हुँदै बर्दिबास र त्यहाँबाट महेन्द्र राजमार्ग हुँदै मेची पुग्नु थियो । जापान सरकारले २२ वर्ष लगाएर बनाएको बनेपा-बर्दिबास (विपी राजमार्ग) पर्यावरणलाई असर नगरि बनाइएको बाटो हो । यसमा रहेको घुम्ती देशमा मात्र होइन विदेशमा समेत प्रख्यात छन् । यहाँ गाडी चलाउन सधैँ रोमाञ्चक लाग्छ । अझ नेपालको सबै टेरेनको अनुभव गर्न सकिने यो बाटोमा नयाँ कारको टेष्ट गर्न निकै उपयुक्त रहेको छ ।

बाटोमा रहेका सार्प घुम्तीहरु, उकालो-ओरालोले कार चालक तथा कारमा रहेको प्यासेन्जरहरुलाई समेत थ्रिल अनुभव हुने रहेछ । हामीले चलाएको ग्लोरी ५८० एक सेभेन सिटर कार हो । यस कारमा सात जनासम्म सजिलै यात्रा गर्न सकिन्छ । पछाडिको सिटमा भने दुईजना मात्र यात्रा गर्न सकिने रहेछ । वीचको सिटमा आरामसँग ठूलो साइजका दुईजना र औषत साइजका ३ जना बस्न मिल्छ । वीचको सिटलाई अगाडि पछाडि सार्न मिल्ने तथा इनक्लाइन तथा डिक्लाइन समेत गर्न सकिन्छ । दुई सिटको वीचमा रहेको आर्मरेष्ट र त्यसमा रहेको दुईवटा कप होल्डर निकै उपयोगी छ । अगाडिको ड्राइभर तथा पेसेन्जर सिट चार तरिकाले मिलाउन मिल्ने रहेको छ । यस एसयुभीको सबै ७ वटा सिटमा हेडरेष्ट दिइएको छ भने सिटमा सफ्ट लेदर प्रयोग गरिएको छ । क्याविनमा रहेको सनरुफले हाइवेको यात्रामा फ्रेस एयर गाडीमा भित्र्याउन सहयोग गर्छ ।

सुरक्षाको मापदण्डमा यो कार फाइभ स्टार रेटिङ कार हो । ग्लोवल एनक्यापले ग्लोरी ५८० लाई चालक र यात्रीको सुरक्षामा अब्बल रहेको भन्दै ५ स्टार रेटिङ दिएको हो ।

सुरक्षाको लागि यो कारमा इलेक्ट्रोनिक ब्रेक असिस्ट, इलेक्ट्रोनिक ब्रेक फोर्स डिस्ट्रिव्युसन, एन्टिलक ब्रेकिङ्ग सिस्टम तथा इलेक्ट्रोनिक पार्किङ ब्रेक पाउन सकिन्छ । ग्लोरी ५८० मा चारवटा एयरव्याग, भेहिकल बर्गलर अलार्म सिस्टम, पार्किङको लागि रियर सेन्सर तथा रियर भ्यू क्यामरा र भेहिकल रनिङ्ग रेकडर्र समेत दिएको छ ।

गर्मी सुरु भएपछि तराई गएकाले हामीले यसको एसीको प्रयोग निरन्तर गर्यौ, एसीको प्रर्फमेन्स उत्कृष्ट रहेको छ । अझ डिउल जोन एसीले अगाडि र पछाडि बस्ने दुबै पक्षलाई हावाको वहाव मनग्य पुग्छ । पछाडि फ्यानको स्पीड कन्ट्रोल गर्न बटम दिइएको छ । पछाडिको एसी भेन्ट पनि सिलिङमा रहेकोले क्याविनलाई छिटै चिस्याउन मद्धत गर्छ ।

 

पहिलो दिनको यात्रा अलि लामै थियो । मेचीमा गएर बस्ने योजना भएकाले बर्दिबास पुगेपछि हाम्रो यात्राको गति बढ्दै गयो । तराईको सोझो र सम्म बाटोमा गाडीलाई फुल थ्रोटलमा कुदाउन एकदमै रमाइलो अनुभुती हुन्छ । अझ यो ग्लोरी ५८० मा सिभीटी गियरबक्स भएकाले गियरमा हात लगाउनै नपर्ने । अटोमेटीक गाडीमा स्पीड अनुसार गियर आफै परिवर्तन हुदै गर्दा गियर सिफ्ट भएको चालकलाई अनुभव हुने गर्छ तर, सिभिटी (कन्टिनीवस भेरियवल ट्रास्मिसन) मा भने गाडीको सिस्टमले आफैँ आवश्यकता अनुसार गियर चेन्ज गरिनै रहेको चालकले कुनै अनुभव गर्न सक्दैन । यो निकै स्मुद रहेको छ ।

ग्लोरी ५८० मा रहेको १.५ लिटरको टर्बो चार्ज इन्जिनले १५० घोडाको शक्ति उत्पन्न गर्छ । जुन नेपालको कुनै पनि बाटाहरुमा गाडीलाई फुल स्पीडमा गुडाउदा पर्याप्त हुने छ । अझ यसलाई स्पोर्टस् मोडमा चलाउनका लागि हाइवेमा बाटो नै अपुग लाग्ने रहेछ । यसमा पिक टर्क पनि २२० न्यूटन मिटर रहेकाले ओभरटेक गर्न तथा जस्तो सुकै उकालोमा पनि सजिलै चलाउन सकिन्छ ।

हाम्रो यात्रा कोशी हुँदै बेलुका पूर्वको मेचीमा पुगेर रोकियो । दिनभरको यात्रामा पनि हामी सबै ५ जनालाई थकानको अनुभव भएन । अझ करिब ५ सय किलोमिटरको यात्रामा ड्राइभीङ्ग गर्दा पनि कुनै थकान अनुभव भएन । मलाई त ड्राइभिङ सिटबाट झर्नै मन लागेन ।

हाम्रो यात्रा मेची मात्र सिमित नभई इलामको कन्याम, धरान हुँदै फेरि यहि हाइवे हुँदै काठमाडौं फर्किकने थियो । तीन दिनमा सम्पन्न भएको करिब १ हजार १ सय किलोमिटरको यो छोटो यात्रामा चालक र पछाडि बीचमा तथा अन्तिम सिटमा बस्ने सबै यात्रुहरुलाई कुनै पनि प्रकारको समस्या रहेन । आरामसँग पूर्वको राउण्ड लगाइयो । डिएफएसकेको ग्लोरि ५८० नेपालको सबै प्रकारको बाटाहरुमा सुहाउँदो आरामदायी तथा सुरक्षीत रहेको हाम्रो विश्वास रहेको छ ।

Read A Full Article

Leave a Reply