ए डिभिजन लिगका लागि शंखमुल फुटसल क्लबलाई कुजु नेपालले प्रायोजन गर्ने

काठमाडौं – आगामी असोज २ गते देखि पोखरामा सम्पन्न हुने पहिलो ए डिभिजन फुटसल लिगमा सहभागी हुने शंखमुल फुटसल क्लबलाई कुजु नेपालले प्रायोजन गर्ने भएको छ । असोज २ अर्थात सेप्टेम्बर १८ देखि प्रारम्भ हुने प्रतियोगिता अक्टोबर ९ सम्म चल्ने छ ।

आज आयोजित एक कार्यक्रमका बीच कुजु नेपालका निर्देशक उमिद श्रेष्ठ र शंखमुल फुटसल क्लबका निर्देशक नरेश अवालेले सो सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । एन्फा फुटसल कमिटीका प्रमुख विनोद गुरुङले फुटसल खेलाडीहरुका लागि तयार पारिएको जर्सी सार्वजनिक गरे ।

कार्यक्रममा कुजु नेपालका निर्देशक सम्राट पाण्डेले विद्यालय स्तरदेखि नै फुटसल मन पर्ने र नेपालमा फुटसललाई प्रवद्र्धन गर्नुपर्ने आवश्यकता भएकाले सुरुवाती चरणको सहयोग गरेको बताए ।

कुजु नेपालले फुटसलका लागि आवश्यक जर्सी र एक वर्षको प्रायोजनवापत २ लाख रुपैयाँ प्रदान गर्ने भएको छ ।

अखिल नेपाल फुटबल क्लब (एन्फा) अन्तर्गतको फुटसल कमिटीले आयोजना गर्ने उक्त प्रतियोगितामा देशभरका १० टिम सहभागी हुने छन् । सन् २०१५ मा स्थापना भएको शंखमुल फुटसल क्लब यो भन्दा पहिले २०७४ र २०७५ मा गरी २ पटक फुटसलमा नेसनल च्याम्पियन बनिसकेको छ । त्यसैगरी २ पटक रुस्लान कप जितेको छ भने टिमका विभिन्न खेलाडीहरुले ३० भन्दा बढी टाइटल जितिसकेका छन् ।

कुजु नेपालले सन् २०१८ देखि नेपाली बजारमा चाइनिज ब्रान्ड डीएफएसकेका कार र यही वर्ष देखि याडिया प्रिमियम इलेक्ट्रिक स्कुटर बिक्री–वितरण गरिरहेको छ ।

Read A Full Article

Leave a Reply